विराटनगर,१४ असोज । नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्यका लागि अनेरास्ववियुका युवा नेता प्रकाश  श्रेष्ठले उम्मेदवारी दिनुभएकाे छ ।युवा नेता श्रेष्ठले एमाले काेशी प्रदेश युवा भुगाेल खुल्ला सदस्य पदका लागि उम्मेदवारी दिनुभएकाे हाे ।

२०५८ सालबाट अनेरास्ववियु वसन्त मावि वसन्तपुरको मावि कमिटीमा संगठित भई राजनीति थाल्नुभएका श्रेष्ठ अनेरास्ववियुको ईलाका कमिटी अध्यक्ष हुदै, जिल्ला कमिटी तेह्रथुमको ३ कार्यकाल सदस्य,उपचिव,आयोजक कमिटी सचिव,उपाध्यक्ष हुदै २०७२ सालमा अध्यक्ष बन्नु भएको थियो ।

त्यस्तै २०७० मा अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य, (२०७२ - २०७९ ) अनेरास्ववियुको केन्द्रीय कमिटीमा निर्वाचित भई सचिवालय सदस्य र स्थायी कमिटी सदस्य भई काम गरेको अनुभव छ ।

२०६५ सालदेखि ०७० सम्म तत्कालीन वसन्तपुर गाउँ कमिटीको उपसचिवभएर काम गर्नुभएको श्रेष्ठ नेकपा एमाले लालीगुराँस नगर कमिटीको सचिवालय सदस्य, २०७३ नेकपा एमाले जिल्ला कमिटी तेह्रथुमको निर्वाचन कमिटी उपाध्यक्ष, २०७८ सालदेखी हाल सम्म जिल्ला कमिटी सदस्य हुनुहुन्छ। 

 प्रेस चौतारी जिल्ला कमिटीको सचिव हुदैँ राष्ट्रिय पर्यटन व्यवसायी संगठनको कोशी प्रदेश कमिटी सचिवालय सदस्य भई काम गरेको विभिन्न पदबाट कार्यकुशलता प्रदान गर्दै पार्टीलाई अघि बढाउन कुसल नेतृत्व गर्दै आउनुभएका श्रेष्ठ प्रदेशमा युवाकाे सहभागिताका लागि आफ्नाे उम्मेदवारी दिएकाे  बताउनुहुन्छ ।

एमाले काेशी प्रदेश कमिटीकाे विराटनगरमा जारी प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आइतबार  बिहान ११ बजेबाट मतदान हुँदैछ ।  अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाकाे उम्मेदवारी परेकाे छ ।

शुक्रबारदेखि सुरु भएकाे महाधिवेशन अन्तर्गत शनिबारबाट निर्वाचन प्रक्रिया सुरु भएकाे हाे । आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल भई पारित गरिएकाे अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिनुभयो । आइतबार बिहानदेखि मतदान भई बेलुकासम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उहाँले बताउनुभयो । अध्यक्षको सांगठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुतिपछि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारीसहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्नेछ ।  सहमतिको प्रयास भईरहेको र विभिन्न कल्स्टरबाट चुनिनुपर्ने भएकाले केही पदमा निर्वाचन हुन सक्ने बताइएको छ । 

अधिवेशनमा १३७ वटा पालिकासहित विभिन्न जनवर्गीय संगठन, दलित, मजदूर प्रतिनिधि गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् ।