काठमाडौं,१५ असोज ।  नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेकपा एमाले बलियो भयो भने मात्रै जनताको अधिकार रक्षा हुने बताउनुभएको छ । 

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै विष्टले अहिले देशको राष्ट्रियता माथि हस्तक्षेपको प्रयास भइरहेको बताउनुभयो । ‘हामीलाई हाम्रो देशको माया छ, हामी हाम्रो देशको स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो । 

अहिले धेरै नेपाली युवा बिदेसिएका बताउँदै विष्टले एमाले देश भित्रै अवसर खोज्न लागिरहेको बताउनुभयो । आज नेपाली युवाले युरोप र जापानको सपना देखेको बताउँदै विष्टले अबको १५÷२० वर्षमा युरोप जापानका युवाको आकर्षणको केन्द्र नेपाल बनाउने गरी नेकपा एमाले लागेको प्रष्ट पार्नुभयो । 

यसका लागि पहिला नेकपा एमाले बलियो बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । एमालेका नेता कार्यकर्ताको एकता बलिया भयो भने मात्र एमाले बलियो हुने उहाँले बताउनुभयो । ‘आज पार्टी भित्रको आवश्यकता पूरा गर्ने गरी हामी अगाडि बढ्नु पर्ने छ’, उहाँले भन्नुभयो । 

नेकपा एमाले बलियो नभएसम्म देशको अवस्था अहिलेको जस्तै हुने उहाँले बताउनुभयो । त्यसैले एमालेलाई बलिया पार्टी बनाउने गरी सबै नेता कार्यकर्ता लाग्नु पर्ने विष्टको जोड छ । 

नेकपा एमाले जनताको मुक्तिको लागि नेतृत्व गरेको पार्टी भएको उहाँले बताउनुभयो । एमाले सबै खालका अतिवादी र शोषणका विरुद्ध आन्दोलनरत पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । 

एमालेलाई कमजोर पार्ने अनेकन् प्रकारले देश भित्र र बाहिरका शक्ति लागेका उहाँले बताउनुभयो । तर एमालेलाई कुनै तागतले कमजोर पार्न नसकेको र नसक्ने उहाँले दाबी गर्नुभयो । ‘जनताको अगाध मायाका साथ अगाडि बढेको यो पार्टीलाई कुनै तागतले, कुनै शक्तिले रोक्न सक्ने छैन’, उहाँले भन्नुभयो । 

गठबन्धन सरकार प्रति जनताको विश्वास मरेको उहाँले बताउनुभयो । आज सरकार टेलिभिजनको पर्दा र रेडियोमा मात्र देखिने र सुनिने गरेको भन्दै विष्टले जनताको समस्यामा सरकार नदेखिएको बताउनुभयो । जनताले सरकार प्रति आशा राख्नु भैँसीका अगाडि बाँसुरी बजाउनु जस्तै भएको उहाँले टिप्पणी गर्नुभयो ।