काठमाडौं,१७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा फुट र विभाजन ल्याउन अनेक प्रयत्न भइरहेका बताउनु भएको छ । एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो कुरा बताउनु भएको हो ।
बुधबार विराटनगरमा भएको शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विरोधीले एमाले फुटाउन जति प्रयास गरे पनि सफल नहुने उहाँले प्रष्ट पार्नुभयो ।
देश चलाउने पार्टी एमाले मात्र भएको बताउँदै ओलीले देश भक्त कम्युनिष्टलाई एमालेमा आबद्ध हुन आग्रह गर्नुभयो । उहाँले एमालेको लक्ष मिसन २०८४ भएकोले त्यसैलाई टार्गेट बनाएर काम गर्न निर्देशन दिनुभयो ।
ओलीले नवनिर्वाचित कमिटीलाई पार्टीलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।
एमालेको पहिलो प्रदेश अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित हुनुभएको छ भने उपसचिवमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित हुनुभएको छ । अधिवेशनबाट २ सय १५ सदस्यीय कमिटी चयन भएको छ ।
नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उहाँहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । उहाँहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।





















