विराटनगर, २५ असोज । कोसी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीले दाबी पेस गरेका छन । आङ्बो नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हुन्।
दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् । सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
कार्की नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुन्। कांग्रेसको संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर उनले नेकपा एमालेको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरेका हुन् । कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले पनि उनलाई साथ दिएका छन्।
९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्। ६ सांसद भएको राप्रपा तटस्थ बसेको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि (शुक्रबार) ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न समयसीमा दिएका छन ।
नेपाली कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षको भिन्ना भिन्दै गुट बन्दा कोशीको राजनीति थप अन्योल भएको छ।




















