बेलबारी,२६ असोज । मोरङको बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन सहितको वार्षिक साधारण सभाको मिति नजिकिदै रहेको छ ।
यहि असोज २७ गते शनिबारका दिन भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा निर्वाचन सहितको वार्षिक साधारण सभा हुन लागिरहेको हो ।
संस्थाको आसन्न निर्वाचनमा दुर्गाप्रसाद गौतमको समूह र अर्कातिर किशोरकुमार कार्की समूह प्रतिष्पर्धामा रहेका छन् । दुबै पक्षको प्रचारप्रसार शैली र अभियान हेर्दा स्थानीय तह निर्वाचनको झल्को दिएको आभाष हुन्छ । तर अध्यक्ष पदका उम्मेदवार दुर्गाप्रसाद गौतम र उनको समूहमा रहेका उम्मेदवारको व्यक्तित्व र प्रभाव निकै वजनदार तथा भारी देखिन्छ ।
धेरै संघ संस्थामा आवद्द भई राम्रो अनुभव संगालेका गौतमको तुलनामा कुनै संघ संस्थामा पनि स्थापित नभएका कार्की कमजोर उम्मेदवार देखिएका छन । अनलाइन सगरमाथाको टिमले २५ र २६ गते गरेको मतसर्भेक्षणको तथ्याङ्क र मतदाताको अभिमतका आधारमा गौतमको समूहसेट नै भारी मतान्तरले जित हासिल गर्ने पक्का देखिन्छ ।
निर्वाचन समितिले प्रकाशन गरेको मतदाता सङ्ख्या अनुसार बेलबारी वडा नं. १ मा ७५५,वडा नं. २ मा ५११ र वडा नं. ३ मा १ हजार ९ जना गरी जम्मा २ हजार २७५ जना मतदाता रहेका छन् ।
मतसर्भेक्षणका क्रममा संवाददाता टोली बेलबारी १ को माथिल्लो नक्सल, तल्लो नक्सल, पर्ताघारी,बर्राडागी, गाइघाट, नगरपालिका चोक,सिनेमा हल चोक हाटखोला, गुम्वाटोल,महाराज थान,भानुटोल, सिसौली र पुरानो बेलबारी टोल गरी जम्मा तेह्र टोल र चोकका अठहत्तर जनामा मतसर्भेक्षण गर्दा ५७ प्रतिशतले गौतमको टोलीलाई मतदान गर्ने देखिएको छ । त्यस्तै ३८ प्रतिशतले कार्कीको समूहलाई मतदान गर्ने र बाँकी ५ प्रतिशत अनिर्णित भएको देखिन्छ ।
गौतम र उनको समूहलाई किन मतदान गर्नुहुन्छ भनी उपभोक्ताहरु सँग सोध्दा जवाफमा गौतम तथा उनको समूहमा परिपक्वता रहेको, मिलनसार, अनुभवी, योजना तर्जुमा गरी सफल कार्यान्वयन गर्न सक्ने क्षमता भएको र दूरदर्शी नेतृत्व गुण भएको औँल्याउँछन् ।
बेलबारी २ को लालभित्तीमा रहेका प्रमिस टोल, धिमाल टोल, साहारा टोल, शुक्रबारे तथा गाडवाँध टोल, बजारटोल, गौतम टोल, दुलाल टोल, बिच टोल, सिँहदेवी टोल, र थापा चोक गरी जम्मा एघार टोलमा छैसठ्ठी जना मतदातामा सर्वेक्षण गर्दा ७८ प्रतिशतले गौतम समूहलाई १९ प्रतिशतले कार्की समूहलाई मतदान गर्ने र ३ प्रतिशत अनिर्णित अवस्थामा रहेको पाइन्छ ।
किन गौतमको समूहलाई मतदान गर्ने भनी प्रश्न गर्दा सर्भेमा परेका मतदाताहरूले गौतम एक अनुभवी र कुशल नेतृत्व गर्न सक्ने भएको र उनको समूहमा रहेका उम्मेदवारहरूको समूहमा रहेका सबै उम्मेदवारहरू लोकप्रिय भएको बताउँछन् ।
वडा नं ३ का सहकारी टोल, विजुली अफिस टोल, मालपोत टोल, पुरानो मालपोत टोल, पुरानो बेलबारी, करमडाँडा, सम्झना दोगडे टोल, मैनाबारी, मिर्मिरे, सिम्पाने र खोरिया टोलका जम्मा अठासी मतदातामा सर्भेक्षण गर्दा ५३ प्रतिशतले गौतमको समूहमा, ४१ प्रतिशतले कार्की समूहमा मतदान गर्ने र ६ प्रतिशत अनिर्णित अवस्थामा रहेका छन् ।
समग्रमा सर्भेक्षण टोलीले तीन वडामा जम्मा २३२ जना मतदाताबाट अभिमत लिएकोमा गौतम समूहले ६३ प्रतिशत र कार्की समूहले ३३ प्रतिशत मत प्राप्त गर्न सक्ने तथा समग्रमा ४ प्रतिशत मतदाता अझैसम्म पनि अनिर्णित अवस्थामा रहेको देखिन्छ । बाँकी रहेको एक दिनमा कुनै अलौकिक चमत्कार भएन भने गौतम समूहको विजय सुनिश्चित रहेको देखिन्छ ।
सर्भेक्षणका क्रममा दुर्गाप्रसाद गौतम समूहको यति धेरै लोकप्रियता हुनुका कारणहरू पनि सोधिएको थियो । गौतम समूहको पक्षमा अधिकाशंको जवाफ लगभग उस्तैउस्तै पाइएको छ ।
गौतम आफैँमा सक्षम, कुशल, इमान्दार, पारदर्शी, मिलनसार, योजनाकार, कुशल नेतृत्व, परिपक्वता,सामाजिक सङ्घ संस्था सञ्चालनको लामो अनुभव भएको र आजसम्म पनि कहिँ कतै गलत कार्य नगरेको भनी जवाफ दिएका थिए ।
गौतमले नेतृत्व गरेको उनका समूहका उपाध्यक्ष मदन राई (सङ्गीता),सचिव मनकुमार गुरुङ,कोषाध्यक्ष विन्दुकला गुरुङ,सदस्यहरू क्रमशः प्रतापसिँह राणा,लक्ष्मी दुलाल,शंशेर गिरी,खड्गकला गिरी,सजिना बराइली रहेका छन् ।
त्यसैगरी लेखा समितितर्फ संयोजकमा जगतबहादुर क्षेत्री र सदस्यहरुमा कोपिला तामाङ र सावित्रीकुमारी धिमालले भारी मतान्तरले विजय हासिल गर्ने सुनिश्चित देखिएको छ ।
सर्वेक्षण टोलीका अनुसार लगभग ६५ देखि ६७ प्रतिशत (१६०० को हाराहारीमा) मत झर्नेछ ।जसमध्ये ९०० देखि १००० सम्म दुर्गाप्रसाद गौतमको संयुक्त समूहलाई र किशोर कार्की समूहलाई ६ सयको हाराहारीमा मत प्राप्त हुने अनुमान गरिएको छ ।
यहि बीचबाट लगभग ५० देखि ७५ मत बदर हुन सक्ने अनुमान गरिएको छ । फिल्ड सर्भेक्षणको यो अनुमानका आधारमा गौतम समूहको विजय पक्का रहेको देखिन्छ ।
यो पनि-बेलबारीको खानेपानीमा गौतम समूह लोकप्रिय,को हुन दुर्गाप्रसाद गौतम ?


