काठमाडौं,२६ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता जोगाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल जस्तोसुकै कुकर्म गर्न पनि तयार रहेको तथ्य प्रमाणित भइसकेको ठोकुवा गर्नुभएको छ ।
प्रेस चौतारी काठमाडौंले आज आयोजना गरेको कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो ठोकुवा गर्नुभएको हो । ‘मुलुक निकै ठूलो संकटमा पुगिसक्यो, तर यो सरकारलाई कुनै चासो छैन । प्रधानमन्त्री र सत्ता गठबन्धन सत्ता जोगाउनेबाहेक केही सोचिरहेका छैनन । सत्ता जोगाउन जस्तासुकै कुकर्म गर्न तयार छन,’ पोखरेलले भन्नुभयो । उहाँले यो गठबन्धनले देश र जनताको बिपक्षमा मात्रै काम गरिरहेको बताउनु भयो ।
‘देश बर्वाद होस तर मेरो सत्ता जोगियोस भन्नेमा प्रधानमन्त्री छन, यो सरकार र गठबन्धनलाई मुलुक र जनताप्रति कुनै चिन्ता छैन,’ पोखरेलले भन्नुभयो । एमालेको अवको मिसन २०८४ मा एकल बहुमतको सरकार रहेको उल्लेख गर्दै पोखरेलले अहिलेको निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको पनि बताउनु भयो । ‘यो निर्वाचन प्रणालीमा सुधार आवश्यक छ, राजनीतिक स्थायित्वका लागि सुधार गर्नुपर्छ भन्नेमा एमालेले पनि सोचिरहेको छ,’ पोखरेलले भन्नुभयो ।
उहाँले नेपाल बुहजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश भएकोले त्यसलाई बचाएर अघि बढनुपर्ने बताउनु भयो । ‘ नेपाल बुहजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश हो, यसको अर्थ के–हो भने हाम्रो बिचमा सामाजिक सद्भाव अत्यावश्यक छ,’ उहाँले भन्नुभयो, ‘यो सामाजिक सद्भावको जगमा मात्रै हाम्रो राष्ट्रिय एकता रहन सक्छ,’ पोखरेलले भन्नुभयो । उहाँले सवैको आफ्ना अभिव्यक्ति, आचरण र व्यवहारहरुले मात्रै सामाजिक सद्भावलाई कायम राख्ने बताउनुभयो । उहाँले नेपाल देश सिङ्गमरमर जस्तै भएको उल्लेख गर्नुभयो ।
‘मैले धेरै ठाउँमा भन्ने गरेको छु । हामीले सिङ्गमरमर देख्छौँ । सिङ्गमरमरमा बुट्टा नै बुट्टा हुन्छन् । कुनै ठूला हुन्छन् । कुनै साना हुन्छन,’ पोखरेलले भन्नुभयो ‘रातो, पहेलो, हरियो, कालो अनेक खालका बुट्टाहरु देखिन्छ । त्यो हजारौँ वर्षको भौगर्भिक र रासायनिक प्रक्रियाबाट त्यो चिज बनेको छ । यी भिन्न छन् । एक आपसमा गाँसिन मिल्दैन भनियो भने त्यो दुर्भाग्य हुन्छ । हाम्रो समाज पनि त्यस्तै हो ।’ उहाँले नेपालको सामाजिक संरचना पनि सिङ्गमरमर जस्तै भएको उल्लेख गर्नुभयो ।
अमेरिका आप्रवासीहरुको बाहुल्यता भएको देश भए जस्तै नेपाल अल्पसंख्यकहरुको देश भएको उल्लेख गर्नुभयो । त्यसैले सद्भाव नै नेपालको आवश्यकता भएको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरता नेपालका लागि दूर्भाग्य भएको भन्दै राजनीतिक स्थिरता अहिलेको आवश्यकता भएको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक अस्थिरताका कारण राष्ट्रिय स्वाभिमान कमजोर भएको उल्लेख पनि गर्नुभयो ।
एमाले मिशन ०८४ र मिशन ५१ प्रतिशतको अभियानमा लागेको उहाँको भनाई थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बर्तमान सत्ता गठबन्धन खुलेयाम संबिधानमाथि आक्रमणमा उत्रिएकोले सवै नागरिक सचेत भएर प्रतिवादमा लाग्नुपर्ने बताउनु भयो । कोशी प्रदेशमा सत्ता गठबन्धनले गरिरहेको संबिधानबिरोधी हर्कतले ब्यवस्थामाथि नै संकट ल्याउने काम भएको अध्यक्ष बस्नेतको भनाई थियो ।
कार्यक्रममा प्रेस सेन्टर परित्याग गरी पत्रकार सरोज पोखरेल प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ । पोखरेललाई एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल र प्रेस चौतारीका अध्यक्ष बस्नेतले खादा लगाएर संगठनमा स्वागत गर्नुभयो ।




















