विराटनगर,२७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री  कार्कीले मध्यावधि रोक्नको लागि एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन् । उनले भोलि शपथसँगै सानो मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।

उनले भने,‘४७ सांसदहरुको सामूहिक एकताले हामीले मध्यावधि रोक्न सफल भयौं । संविधानको धारा १६८ (५) को अनुसार मलाई मुख्यमन्त्री नियुक्ति गर्नुभयो । यहाँ पार्टीले पनि सबैभन्दा पुरानो, संविधान मान्ने पार्टीले संविधानसम्मत गरेको कुरालाई सकारात्मक रुपमा लिन्छ भन्ने बुझेको छ ।’

सरकार गठनमा अब एमालेसँग मिलेर बन्छ कि गठबन्धनसँग भन्ने प्रश्नमा उनले भने, ‘त्यो पछिको कुरा हो । अहिले त्यो निर्णय भएको छैन। काम गर्दैजाँदा हुन्छन् ।’