रुपन्देही,२८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा कांग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको बताएका छन् ।आइतबार प्युठानको विजवार जरुमीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधि गराएर देशको अनावश्यक खर्च जोगाउन विद्रोही कांग्रेसलाई समर्थन गरेको जनाएका छन् ।
‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित छन्, अति भएर कोशी प्रदेशमा कांग्रेसका केही साथीहरुले विद्रोह गर्नुभएको हो, कांग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो भएको हो, ८ सीटका पछि कांग्रेसको ह्वीप लागेपनि केही सांसदले विद्रोह गर्नुभयो’, ओलीले भने ।
उनले एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भएपनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन कांग्रेसको विद्रोहलाई समर्थन गरेको प्रष्ट्याए ।
उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनको सबैतिर संघीयताको वितृष्णा जगाएको बताए । ‘कोशीमा हेर्नुस् कतिपटक किर्ते गरे, कति प्रदेशमा भागवण्डा पुर्याउन मन्त्रालय थपे, को को लाई कानून विपरीत नियुक्त गरे, अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो’, ओलीले भने ।


