धनगढी,२९ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले ४ दल एक भएर समाजवादी मोर्चा बनेपछि देशमा तरङ्गित भएको दाबी गर्नुभएको छ । उहाँले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले मोर्चा बनाइएको बताउँदै त्यसले कतिपय पार्टीको सातो गएको समेत बताउनुभयो ।
‘चार दल एकतावद्ध भएपछि देशमा तरंग पैदा गरेको छ,’ समाजवादी मोर्चाले धनगढीमा गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘कतिपय पार्टीको झण्डै सातो गएको छ ।’
आफूहरुले एकअर्काको विचारको सम्मान गर्ने भएकाले कोही पनि मोर्चाबाट डराउन नपर्ने उहाँले बताउनुभयो । अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कम्युनिस्ट भएको दाबी गर्नुभयो । ‘उपेन्द्रजी पनि खाँटी कम्युनिस्ट हो, यो देशका पुरानो कम्युनिस्ट नै हुन्,’ नेपालले दाबी गर्नुभयो ।




















