काठमाडौँ,२९ असोज। कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकको बीचैमा महामन्त्री गगन थापा निस्किएका छन् । देउवाले सोमबार आफ्नै निवास धुम्बाराहीमा पार्टी उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सँगको छलफलको बीचबाटै थापा बाहिरीएका हुन् ।
थापा के कारणले छलफलबाट बाहिरिएको भन्ने यकिन नभएपनि व्यस्तताको कारणले धुम्बाराहीबाट निस्किएको स्रोतले जनाएको छ।
डा शेखर कोइराला समूहले कोशी प्रदेशमा गरेको विद्रोहपछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टी सभापति शेरबहादुर देउवाले छलफल थालेका हुन्।
कोशी प्रदेशमा नेता कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ।कोशीमा शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन्। उनलाई सत्ता गठबन्धनले पनि साथ दिने भनेको छ।
त्यसबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि देउवाले बैठक राखेका हुन्। शेखर समूहले कोशीमा गरेको विद्रोहले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्नुका साथै कांग्रेसको आन्तरिक संगठनमा धक्का पुग्ने चर्चा भएका छन्।




















