विराटचोक,२९ असोज । मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँले सञ्चारकर्मी लेखनभन्दा पनि लाइक र भ्युजको लोभले भिडियोतिर बढी लाग्दा सञ्चारकर्मीको साख गिरेको बाताएका छन् । 

सुन्दरहरैँचामा रहेको एकता मिडिया प्रालिको शनिबार भएको साधारण सभामा मेयर गुरागाईँले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मेयर गुरागाईँले केही समय अघि सुन्दरहरैंचा नगरपालिकाको करवृद्धिको आन्दोलनमा कुरै नबुझी सञ्चारकर्मी पनि आन्दोलनमा उत्रिएको आरोप लगाए ।सञ्चारकर्मीले आन्दोलनकारीको साथ दिँदा र आन्दोलनमा ऐक्यबद्धता जनाउँदा आन्दोलनकारी हुन् कि सञ्चारकर्मी हुन् भनेर छुट्याउन गाह्रो भएको उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष रमेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पछिल्लो समय रेडियोको अवस्थाका खस्किँदै गएको संस्थालाई बचाउनुपर्ने बताउँदै रेडियोेले पनि समयानुकूल आफूलाई परिवर्तन गर्नुपर्ने उल्लेख गरे । मेयर गुरागाईँ पनि शेयर सदस्य रहेको उक्त एकता मिडिया प्रालिको रेडियो शुशेली संचालनमा छ  ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका पूर्व मेयर शिवप्रसाद ढकाल, एकता मिडिया प्रालिका संस्थापक अध्यक्ष भोलेश्वर दुलाल, इन्द्रपुर साना शहरी तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईं लगायतको आतिथ्यता रहेको थियो ।