विराटनगर,१ कात्तिक। नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् भन्ने चाहेको बताएका छन् ।विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा मंगलबार भएको छलफलमा कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने पनि बताएका छन् ।
साथै उनले जबसम्म संघीयताको पक्षमा उभिन्छ र मध्यावधिको विपक्षमा रहन्छ, सरकारलाई समर्थनगरिरहने बताए ।
‘अहिलेपनि तपाईहरु सबै मिल्नुहुन्छ भने हामीलाई सरकार बाहिर बस्न कुनै आपत्ति छैन’ उनले भने,‘एमालेका कारण गठबन्धनलाई अप्ठ्यारो परेको हो भने म आग्रह गर्न चाहन्छु, गठबन्धनएक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् ।’
कसैलाई बाहिर नराखी प्रदेशलाई अगाडि बढाउन पनि एमाले तयार रहेको उनले बताए । कार्कीले भने,‘सहकार्य र सहमतिका साथ अगाडि बढ्न तयार छौं । तर त्यसका लागि हाम्रा मुल्य मान्यताहरुलाई धरौटी राखेर संविधान कुल्चिएर तयार हुन्नौं ।’
उनले मध्यावधिको निर्वाचनमा कोशी प्रदेश छैन है भन्ने सन्देश दिने गरी सरकारलाई विश्वासको मत दिनराप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई आग्रह गरे ।




















