काठमाडौं,१३ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ हजार करोड रुपैयाँमा १ हजार रुपैयाँ बक्सिस थपेर पैसा दिने बताउनु भएको छ । कम्बोडियाको दूरसञ्चारमा ३ हजार करोड रुपैयाँ राखेको भनेर आफ्नो नाम जोड्दै प्रसाईंले हालसालै दिएको अभिव्यक्तिमा अध्यक्ष ओलीले आपत्ति जनाउनु भएको छ।
पार्टीको गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको कार्यक्रममा सोमबार बोल्दै अध्यक्ष ओलीले त्यसलाई प्रमाणित गरे १ हजार रुपैयाँ बक्सिस थपेर पूरै पैसा दिने बताए । ‘कम्बोडियामा ३ हजार करोड रुपैयाँ राखेको छु मैले भने धेरै नाफाको बिजनेस उहाँहरूलाई बताइदिन्छु– त्यो पत्ता लगाउनुस्, जानुस् । त्यसमा १ हजार थपिदिन्छु । त्यो पनि तपाईंकै नाममा गरिदिन्छु । १ हजार रुपैयाँ बक्सिस थपेर सबै पैसा दिन्छु,’ ओलीले भन्नु भयो ।
कालापानी, लिपुलेक भूभाग नेपालको नक्सामा समेटेपछि भारतीय टेलिभिजन जी न्यूजले कम्बोडियामा पैसा रहेको भन्दै जथाभावी बोलेको अध्यक्ष ओलीले दाबी गर्नु भयो । तीन वर्षपहिला प्रचार भएको र टेलिभिजनले पनि गल्ती सच्याएको अवस्थामा अहिले फेरि अफवाह फैलाउने प्रयास भएको ओलीले बताउनु भयो ।
आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ गएर प्रसाईंलाई पक्राउ गर्न भनेर बिन्ती बिसाएको समाचार पनि आएको भन्दै ओलीले आक्रोश पोख्नु भयो । ‘प्रचण्डलाई गएर दुर्गा प्रसाईंलाई गिरफ्तार गर्दिनुपर्यो भनेर बिन्ती बिसाएँ अरे ! म भन्न चाहन्छु कमरेडहरूलाई– काटिएर जाओस् यो शिर बरू, त्यस्ताहरूसँग यो शिर झुक्दैन,’ उहाँले थप्नु भयो , ‘भोकै मर्छ होला तर घाँस टिप्न बाघ जाँदैन ।’
प्रतिक्रियावादीहरूले झुटको सहारा लिएर प्रतिस्पर्धा गरिरहेको अध्यक्ष ओलीले बताउनु भयो । सिमरा, घण्टाघर, बानेश्वरलगायत ठाउँमा घर–जग्गा छ भनेर पनि गलत प्रचार गरिएको उहाँको दाबी छ ।




















