काठमाडौं,१४ कात्तिक  ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

कपिलवस्तु निवासी बिश्वकर्मा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर उहाँको हातबाट खादा ग्रहणसहित एमाले प्रवेश गर्नुभएको हो ।

पूर्व सांसदसमेत रहनुभएकी विश्वकर्मा आज बिहाान बालकोट पुग्नुभएको हो । विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद हुनुभएको थियो । एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई गम्भीर धक्का लागेको छ ।

सहिद परिवारको सदस्यसमेत रहनुभएकी बिश्वकर्मा कपिलबस्तुकी चर्चित र लोकप्रिय नेतृ समेत हुनुहुन्छ । नेकपा माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट आचरण र ब्यवहार भन्दा कोसौं टाढा पुगेकोले आफू असली कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेको बिश्वकर्माले बताउनु भयो । माओवादी र प्रचण्डबाट अव मुलुक र जनताको हितमा काम नहुने निश्कर्षले पनि एमालेतिर डोर्याएको उहाँको भनाई छ ।

बिश्वकर्मालाई पार्टीमा स्वागत गर्न एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, कपिलबस्तुका एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा लगायत नेताहरु पनि बालकोट पुग्नुभएको थियो ।