काठमाडौं, १९ कात्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी कार्यालयमा उपस्थित भएका छन्। बोलाउँदा नआए पक्राउ गर्ने तयारी गरेपछि प्रसाईं आफैं प्रहरी कार्यालयमा पुगेका हुन्। प्रसाईंले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति सामाजिक सञ्जाल तथा सञ्चारमाध्याममा दिएको विवादित अभिव्यक्तिपछि नेपाल प्रहरी साइबर ब्यूरोले उनलाई बोलाएको थियो।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा उनलाई उपस्थित हुन भनेका थिए ।जथाभावी नबोल्न पटकपटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएपछि प्रसाईंलाई अन्तिमपटक सचेत बनाउन प्रहरी कार्यालय बोलाइएको बुझिएको छ ।
बैंकको ऋण नतिर्ने बरु उल्टै प्रतिरोध दस्ता खडा गरेर बैंकका कर्मचारीमाथि जाइलाग्ने जस्तो गैरकानुनी सार्वजनिक अभिव्यक्ति र क्रियाकलाप गरेपछि प्रसाईलाई पक्राउ गर्नुपर्ने चर्को दबाब थियो ।
प्रसाई अहिले बैंकको ऋण नतिर्ने अभियानसँगै एमाले छाडेर उनी राजसंस्था पुनःस्थापनाको अभियानमा छन्।


