काठमाडौं,७ मंसिर । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले आफूहरुको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताउनु भएको छ।
युवा संघ नेपालले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसँग कुरा गर्दै नेता बस्नेतले अहिले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि चूनौति खडा गर्ने प्रयास प्रतिगामी तत्वबाट हुन खोजेको भन्दै त्यसको विरुद्ध आफूहरूको आन्दोलन केन्द्रीत रहेको बताउनुभयो।
उहाँले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पार्नुभयो। कथित राजतन्त्रवादीहरु गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खाजेको उहाँको भनाइ छ। त्यस्तै बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्दा भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताउनुभयो। उहाँले अहिलेको व्यवस्थामा देखिएका कमी कमजोरीलाई सुधार गर्दै बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
उहाँले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै बलियो बनाउदै अघि बढ्नुपर्ने बताउनु भयो। गणतान्त्रिक व्यवस्थामाथि आक्रमण हुँदा सबै भन्दा पहिला एमाले आक्रामक हुने उहाँले बताउनुभयो।




















