काठमाडौं,९ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै राजनीतिलाई अराजक बनाएको आरोप लगाउनुभएकाे छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उहाँले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको बताउनुभयाे ।
'अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ। राजनीतिलाई अराजक बनाएको छ। प्रहरीले समातेको गुन्डाहरूलाई सरकारले छोड्न लगाउँछ। राष्ट्रपतिले माफी दिन्छ। समाजमा सुशासन छैन,' उहाँले भन्नुभयाे।
उहाँले व्यक्तिमा खराबी हुने भन्दै लोकतन्त्र कहिल्यै खराब हुन नसक्ने बताउनुभयाे । 'जसले गल्ती गरेको त्यो मान्छे खराब हुन सक्छ। व्यक्ति खराब हुनसक्छ। तर लोकतन्त्र र गणतन्त्र खराब हुन सक्दैन,' उहाँले भन्नुभयाे ।
उहाले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने भन्दै नेपाल अब ढुंगे युगतिर फर्किन नसक्ने बताउनुभयाे। 'हामी ढुंगे युगतिर फर्किन सक्दैनौं। जन्मिँदै कोही राजा बन्ने हामीलाई स्वीकार हुँदैन। त्यो राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन्,' उहाँले भन्नुभयाे।




















