काठमाडौं,९ मंसिर । एमालेबाट बिभाजित भई बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी मुगुमा लगभग रित्तिएको छ ।

नेकपा एमाले मुगुको नवौं जिल्ला अधिवेशनको अवसरमा आज केन्द्रीय सदस्य गोपाल बमको संयोजनमा प्रदेश र जिल्ला कमिटीमा रहेका अधिकांश नेताहरु टीमसहित एमाले प्रवेश गर्नुभएको हो । पूर्वसांसदसमेत रहनुभएका नेकपा एसका केन्द्रीय सदस्य बम गत साता नै एमाले अध्यक्ष केपी शर्मा ओलको बालकोटस्थित निवास पुगेर एमाले फर्किएको घोषणा गर्नुभएको थियो ।

नेता बमकै संयोजनमा आज मुगुका नेकपा एकीकृत समाजवादीका अधिकांश नेताहरु एमाले फर्किएका हुन । यसरी फर्कनेमा कर्णाली प्रदेश कमिटी सदस्य अमरराज शाही, चण्डि बुढा, जिल्लाका कार्यालय सचिव नेताप्रसाद चौलागाईंसहित मुगुका अधिकांश नेता रहनुभएको छ ।

एमालेमै फर्किनुभएका नेताहरुलाई महासचिव शंकर पोखरेल, सचिज एवं कर्णाली इञ्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय यमलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटब्यूरो सदस्य मोहन बानियाँ, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलगायतका नेताहरुले अबिरको टीका र माला लगाएर स्वागत गर्नुभएको थियो ।

एमाले प्रवेशपछि नेताहरुले नेकपा एकीकृत समाजवादीको औचित्य सकिएको र बिगतमा आफूहरु भ्रममा परेको बताउनु भएको छ । अव नेकपा एकीकृत समाजवादी भन्ने पार्टी मुलुकमा नरहेने भन्दै उहाँहरुले एमालेमै समाहित हुन सवैलाई अपिल गर्नुभयो । सो अवसरमा बोल्दै एमाले महासचिव पोखरेलले जिल्लाका मुगुमा यो अवसर जुटेकोमा खुसी ब्यक्त गर्नुभयो ।