काठमाडौं,१३ मङ्सिर । बैतडीको जिल्लामा कम्युनिष्ट  पार्टी स्थापना र विस्तारमा सहयोग गर्ने पुराना कम्युनिष्ट नेताहरूलाई बुधबार सम्मान गरिएको छ । बुधबार बैतडीको पाटनमा आयोजित कार्यक्रममा पुराना कम्युनिष्ट  नेताहरूलाई सम्मानित गरिएको हो ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अभियानको उद्घाटन गर्न बैतडी पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले उहाँहरूलाई सम्मान गर्नुभएका हो । 

कार्यक्रममा पार्टीका पुराना नेताहरू, स्थानीय विद्वान, बुद्धिजीवी, पूर्व शिक्षकहरू लगायत कम्युनिष्ट पार्टी स्थापना र विस्तारमा योगदान गर्ने तथा सङ्कटको बेलामा पार्टी र नेताहरूको संरक्षण गर्ने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो । सम्मानित हुनुहुने विभिन्न क्षेत्रका २ सय ५७ जना हुनुहुन्छ । 

सोही कार्यक्रममा अभियान शुभारम्भ गर्न बैतडी पुग्नु भएका पार्टी अध्यक्ष लगायतका नेताहरूलाई स्वागत गरिएको थियो । नेकपा एमालेले बिहीबार झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोक मार्गको समृद्धिका लागि संकल्प यात्रा सुरु गर्दै छ । तीन हप्ता लामो सो यात्रा पाँचथर स्थित पूर्वको चिवाभञ्ज्याङ नाका पुगेर टुङ्गिने छ । 

यात्राको क्रममा मध्य पहाडका नागरिक तथा पार्टीका नेता कार्यकर्तासँग अन्तरक्रिया हुँदै छ । अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँले गर्दै हुनुहुन्छ । 

अभियानले पहाडका समस्याको बारेमा छलफल गर्ने र समाधान खोतल्ने प्रयास गर्ने बताइएको छ । पहाडबाट मानिसहरू पलायन हुनबाट रोक्न र पहाडमा नै अवसर सिर्जना गर्न यो यात्रा फलदायी हुने नेकपा एमालेले विश्वास लिएको छ । 

Untitled-2 (5) 38