काठमाडौं,१८ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जनताको लागि काम गर्ने पार्टी भएको बताउनुभएको छ । सोमबार बिहान दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो कुरा बताउनु भएको हो ।
आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताउनुभयो । ‘विश्व सम्पन्नता तर्फ लम्किरहेको बेला नेपाल मात्र गरिब भएर बस्न सक्दैन, गरिब राख्न हुँदैन’, उहाँले भन्नुभयो ।
दैलेख ऐतिहासिक र धार्मिक महत्वको स्थान भएको ओलीले बताउनुभयो । दैलेख गौरवमय इतिहास र संस्कृति बोकेको जिल्ला भएको उहाँले प्रष्ट पार्नुभयो । यसको विकास जरुरी भएको उहाँले बताउनुभयो । तथापि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आजको पहिलो आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो ।
नेकपा एमालेलाई सरकारकाबाट हटाएपछि विकास र समृद्धिको यात्रा रोकिएको ओलीले बताउनुभयो । एमालेलाई सरकारबाट हटाउन अनेक षडयन्त्र भएका उहाँले प्रष्ट पार्नुभयो । ‘अनेक शक्ति एमालेको विरुद्ध लागे पनि एमालेलाई सधैँ सरकारबाट बाहिर राख्न सक्दैनन्, एमाले सरकारमा भएन भने देश बरबाद हुन्छ’, ओलीले भन्नुभयो ।
नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको ओलीले बताउनुभयो ।




















