काठमाडौं,१८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राउटे समुदायले दैलेखमा उपहार दिएको छ । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार दैलेख पुग्नुभएका ओलीलाई राउटे समुदायले उपहार दिएका हुन् ।
दैलेखको गुराँस गाउँपालिकामा राउटे समुदायले परम्परागत सिपबाट बनाएको काठका सानो बट्टा उपहार दिइएको छ ।
राँस गाउँपालिकामा अभियानको टोलीलाई स्वागत गर्न पुग्नुभएको राउटे समुदायका महामुखिया सूर्यनारायण शाहीले ओलीलाई काठको बट्टा उपहार दिनुभएको छ । राउटे मुखियाले दिनुभएको उपहार एमाले अध्यक्ष ओलीले रुचिपूर्वक ग्रहण गरी लिँदा लिँदै खोलेर हेर्नु भएको छ ।
राउटे समुदाय नेपालको अति लोपोन्मुख आदिवासी समुदाय हो । यो समुदाय अहिले पनि स्थायी घर बनाएर बस्ने गर्दैन । अहिले पनि राउटेहरू जङ्गलमा नै अस्थायी घर बनाएर बस्ने गरेका छन् ।




















