धरान,२३ मंसिर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पानी जहाजमा काम गर्ने मजदुरहरूलाई संगठित गरेकाे छ ।सुनसरीको चतराघाटस्थित जेटबोट पोर्टमा जेटबोट श्रमिकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पानीजहाज कमिटी सुनसरी गठन गरेको हो ।
सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म चल्ने पानीजहाजका कप्तान, सहायक कप्तान, पोर्ट र काउन्टरमा काम गर्ने श्रमिक तथा स्वरोजगारहरूको भेलाले अनिस थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएकाे संगठनले जनाएकाे छ ।
कमिटीको उपाध्यक्षमा तीलक दर्जी (कप्तान), सचिवमा अनिता श्रेष्ठ, सहसचिवमा सुजन श्रेष्ठ (कप्तान) र कोषाध्यक्षमा महेश साह चयन हुनु भएकाे छ ।
कमिटीका सदस्यहरुमा शंकर नेपाल, पवन न्यौपाने (कप्तान), सानू राई (कप्तान), मनिष घिमिरे (कप्तान), अनिल सुब्बा, प्रवीण राई (कप्तान) र चेतन राई (कप्तान) रहनु भएकाे छ । त्यस्तै कमिटीका सल्लाहकारमा राजेन्द्र कार्की, नवीन पौडेल र विशाल राई रहनु भएकाे छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा विहीबार कमिटी गठन गरिएकाे हाे ।श्रमिकहरुकाे भौतिक र आर्थिक सुरक्षाका लागि बाेटमा काम गर्ने मजदुरहरूलाई संगठित गरेकाे अध्यक्ष राईले बताउनु भयाे ।
पानी जहाजमा काम गर्ने मजदुरहरू संगठित भई निर्माण भएको कमिटी नेपालमै पहिलो र ऐतिहासिक भएको नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा सल्लाहकार राजेन्द्र कार्कीले बताउनु भयो ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ कोशी प्रदेश कमिटीका अध्यक्ष गौरी लामा,सचिव महेश घिमिरे,कोषाध्यक्ष काजी राई नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य राजेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
हाल कोशी नदीमा दन्तकाली जलयातायात प्रा.लि., वराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि., वराह जलयातायात प्रा.लि.को जेटबोट सञ्चालनमा छन् । जेटबोटमा ५० बढी कर्मचारी आश्रित रहेका छन् । १० बढी व्यावसायिक कम्पनीले सन्चालन गरिरहेको जेटबोट प्राविधिक कारणले बन्द छन् ।




















