खोटाङ,२७ मंसिर  । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खोटाङ सदरमुकाम दिक्तेलमा ज्येष्ठ नागरिकहरूले लौरो उपहार दिएका छन् । 

लौरोलाई बुढेसकालको सहारा नागरिकको सहारा पनि मानिन्छ । ज्येष्ठ नागरिकले आफ्नो सहाराको प्रतिकका रूपमा एमाले अध्यक्ष ओलीलाई लौरो उपहार दिएर आफ्नो सहारा बनिदिन अनुरोध गर्नुभएको छ । 

अध्यक्ष ओलीले बुधबार बिहान दिक्तेलमा जेष्ठ नागरिकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्नुभएको थियो । सो क्रममा ओलीले ज्येष्ठ नागरिकहरूका सल्लाह, सुझाव र गुनासो सुन्नुभएको थियो । ज्येष्ठ नागरिक संघले एमाले अध्यक्ष ओलीलाई ज्येष्ठ नागरिकको तर्फबाट सुझाव पत्र समेत बुझाएको थियो ।  

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ ।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।