पाँचथर,१ पुस । नेकपा एमालेकाे झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा भव्य रुपमा सम्पन्न भएकाे छ ।

मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा पुस १ गते आइतबार पाँचथरकाे चिवाभञ्ज्याङ पुगेर सम्पन्न भएकाे हाे । आज मध्यान्ह चिवाभञ्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा झण्डाेत्तलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे १८ दिने संकल्प यात्राकाे समापन गर्नुभएकाे हाे ।

संकल्प यात्राकाे अन्तिम बिन्दु ३ हजार २ सय मिटर अग्लो ठाउँ चिवाभञ्ज्याङमा समापन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले संकल्प यात्रा अत्यन्तै सफल भएकाे बताउनुभयाे । यसले जनताकाे मनाेबल उच्च बनाएकाे, जनतामा पुर्नजागरण ल्याएकाे, पार्टीलाई वैचारिक रुपमा अझ मजबुत बनाएकाे र विराेधीहरुलाई जवाफ दिएकाे उहाँले बताउनुभयाे ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित एमालेले संकल्प यात्रा गरेकाे हाे ।

संकल्प यात्राका क्रममा एमालेकाे संकल्प टाेलीले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी वाग्मती र काेशी प्रदेशका विभिन्न जिल्लाकाे यात्रा गरेकाे थियाे । यात्राका क्रममा मध्यपहाडी राजमार्गमा भित्रका २६ र बाहिरका ४ गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले प्रत्यक्ष संवाद गरेकाे थियाे । संवादका क्रममा एमालेले सुझाव लिएकाे छ । त्यस ठाउँका जनताले ध्यानाकर्षण र मागपत्र पनि पेस गरेका थिए । एमालेले सर्वदलीय संवाद पनि गरेकाे थियाे ।

एमालेले मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेल्धुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुमको यात्रा गरेको थियो ।बाग्लुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुँदै काभ्रेपलाञ्चाेक र सिन्धुपाल्चोकको यात्रा पनि संकल्प टाेलीले गरेकाे थियाे । रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट मंसिर ३० गते पाँचथर पुगेको थियो ।

मध्यपहाडी राजमार्गले नछुने गुल्मी, सुर्खेत, सल्यान र दोलखाकाे यात्रा समेत एमालेकाे संकल्प टाेलीले गरेकाे थियाे । सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय भन्ने नारासाथ मंसिर १४ गते अध्यक्ष ओलीले झुलाघाटमा राष्ट्रिय झण्डा झण्डाेत्तलन गरेर संकल्प यात्राकाे शुभारम्भ गर्नुभएकाे थियाे ।

तस्विरमा हेर्नुस् समापन समाराेह: