ललितपुर,३ पुस । भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्रै आगलागी भएको छ । निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आज एक्कासी आगलागी भएको हो ।

प्रहरीका अनुसार आज बिहान ११ बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०÷१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।

ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहले करेन्ट सर्ट भएर आगलागी भएको जानकारी दिनुभयो । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्रसहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको हो । अन्य स्थानमा नफैलिँदा ठूलो जोखिम टरेको छ ।

आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको छ ।

विराटनगर, ३ पुस । नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

 नेकपा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने उहाँले भन्नुभएन ।

नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ ।

एमाले महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताउनुभयो । यात्राका क्रममा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘यात्राको जति चर्चा भयो, त्यसभन्दा धेरै प्रभाव देखिएको छ ।’