काठमाडौं,११ पुस ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्। पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताए ।
राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताए। अहिलेको सङ्कटलाई सामना गर्ने वैचारिक सामथ्र्य आफ्नो पार्टीसँग रहेको उनको भनाइ थियो ।
यही पुस १३ गतेसम्म चल्ने बैठकमा विधान हेरफेरका लागि नेताको सुझाव सङ्कलन गरी मस्यौदामा छलफल गरिनेछ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्नुका साथै बैठकमा सङ्गठन सुदृढीकरण रणनीति तय गरिने छ।




















