काठमाडौं,११ पुस । पोखरा सहकारी ठगी प्रकरणमा रजिष्ट्रार कार्यालयका पूर्वरजिस्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्। पर्वत प्रहरीले आज बुधबार पराजुलीलाई कार्यालयबाट पक्राउ गरेको हो।
पर्वतका डीएसपी खुमलाल भुषालका अनुसार पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए। १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए।
त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको पर्वतका डीएसपी खुमलाल भुषालले जानकारी दिए।उनी बुधवार कार्यालय गएका थिए। उनलाई आजै कास्की पठाउने बताइएको छ। कास्की प्रहरीले पराजुलीलाई पक्राउ पुर्जी जारी गरेको थियो।


