काठमाडौँ,१३ पुस । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा परी ज्यान गुमाएका दुई जना युवाको परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले घटनामा दुई युवाले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै आन्दोलनका मागहरु पूरा गर्न, पक्राउ परेकालाई विनाशर्त तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरुको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका हुन् ।
साथै अनेरास्ववियुले बालकुमारी घटनालाई सामान्य रुपमा नलिन समेत ध्यानाकर्षण गराएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘यस घटनालाई केबल मन्त्री सवार गाडिमा भएको आगजनीको रुपमा नबुझी आम बेरोजगार युवाहरुको पिडाको रुपमा बुझी आन्दोलनका मागहरु पुरा गर्न, विना शर्त पक्राउ परेका युवाहरुलाई तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरुको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेहरुको उपचारको व्यवस्था गर्न र गम्भिर परिस्थितीलाई प्रहरी दमनबाट होइन आन्दोलनरत युवाहरुको पिरमर्का बुझी वार्ता र संवाद मार्फत समाधान गर्न अनेरास्ववियु सरकार समक्ष जोडदार माग गर्दछ ।’
यस्तै आजको घटना घट्नुमा सरकार आफै जिम्मेवार रहेको अनेरास्ववियुले जनाएको छ ।



