काठमाडाैं,१४ पुस  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्‍याउने बताउनुभएकाे छ ।

शनिबार भक्तपुरमा आयाेजित कार्यक्रममा बाेल्दै महामन्त्री थापाले राम्रो काम गर्न नसके प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले खुमलटार पुर्‍याउने बताउनुभयाे । 'प्रचण्डलाई प्रधानमन्त्री हामीले बनाएकाे हाे, प्रचण्डलाई खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसकाे छ भने राम्राे काम गर्न सक्नुभएन भने प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसले राख्छ'- उहाँले भन्नुभयाे ।

अहिले संसद्‍काे सबैभन्दा ठूलाे पार्टी कांग्रेसले परिवर्तनका लागि भएका हरेक आन्दाेलनकाे नेतृत्व गरेकाे दाबी महामन्त्री थापाले गर्नुभयाे । कांग्रेस नभएकाे भए संविधान नबन्ने दाबी गर्दै उहाँले यदि नेपालमा कांग्रेस छैन भन्ने कल्पना गर्ने हाे भने कुनै न कुनै अतिवादमा नेपाल गाजिने दाबी समेत गर्नुभयाे ।

सरकार चलाउने याेग्यता भने राख्न नसकेकाे समेत उहाँले बताउनुभयाे । 'सरकार चलाउने कुरामा हामीले याेग्यता राख्न सकिरहेका छैनाैं, ०४८ सालमा बहुमत पाएका थियाैं झगडा गर्‍याैं फुट्याैं, ०५६ मा बहुमत पायाैं झगडा गर्‍याैं र फुट्याैं, अहिले फेरि हामीले जिम्मा पाएका छाैं, कसैलाई दाेष दिएर हुँदेन, ३ सय ३२ वटा पालिकाकाे प्रमुख कांग्रेस छ अहिले, २६६८ वटा वडाध्यक्ष कांग्रेसकाे छ, संसद्काे ठूलाे पार्टी कांग्रेस छ, ४ वटा प्रदेशकाे मुख्यमन्त्री कांग्रेस छ, एउटा नेतालाई मात्र दाेष दिएर हुँदैन'- महामन्त्री थापाले भन्नुभयाे ।

प्रधानमन्त्रीले कहिलेकाँही सन्किएर सडकमा आउँछाैं भन्ने अभिव्यक्ति दिने गरेकाे समेत उहाँले बताउनुभयाे । नेकपा एमाले र रास्वपाले ०८४ भन्न पाएपनि पहिलाे पार्टी कांग्रेसले भन्न नमिल्ने महामन्त्री थापाले बताउनुभयाे ।

कांग्रेसले भ्रष्टाचार गर्‍याे भन्ने सन्देश जनतामा गएकाे भन्दै उहाँले त्याे भ्रमलाई निवारण गर्नुपर्ने बताउनुभयाे । भ्रष्टाचार निवारण सम्बन्धी कानुनमा २०४६ सालपछि लाभकाे पदमा बसेकाे प्रत्येक मानिसकाे सम्पत्तिकाे छानबिन गर्ने, अनूचित सम्पत्ति कमाएकाे देखिन्छ भने सम्पत्ति पनि खाेस्ने आवश्यक जरिवाना पनि गर्ने प्रस्ताव कांग्रेसले लैजान लागेकाे समेत महामन्त्री थापाले बताउनुभयाे ।