काठमाडौं,७ माघ  । नेकपा एमालेका  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उमेदवार हुन नपाउने बताएका छन्  ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा मात्र उमेदवार बन्न नपाउने तर जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उमेदवार बन्न पाइने व्यवस्था रहेको उनले बताए । 

नेता गौतमका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उमेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ । 

जिल्ला अधिवेशन तोकिएको अवस्थामा अधिवेशनका लागि उमेदवार र प्रतिनिधि छनोटको मापदण्ड बनाई प्रदेश तथा जिल्ला कमिटीलाई पठाइसकेको उनले जानकारी दिए । यस्तै जिल्ला कमिटीको पदाधिकारी पदमा उमेदवार हुन कम्तीमा पार्टी सदस्य भएको पाँच वर्ष पुगेको र एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सोसरहको भूमिका निर्वाह गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।