काठमाडौं,१० माघ  । आगामी फागुन तेस्रो साता नागढुंगामा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सपनाका रुपमा रहेको यो परियोजनाको काम ९९ प्रतिशत सकिएसँगै ब्रेक थ्रु को अवस्थामा पुगेको हो ।

संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग अन्तर्गतको पृथ्वी राजमार्गमा पर्ने सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुन लागेको आयोजनाले जनाएको छ ।

सडक विभागमातहत नागढुंगा सुरुङ परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार आगामी ६ मार्च अर्थात (फागुन २३) गते सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने योजनासहित काम अगाडि बढिरहेको छ । ‘हाम्रो लक्ष्य ६ मार्चका दिन ‘ब्रेक थ्रु’ गर्ने छ । योजनाअनुसार काम भयो भने सोही दिन मुख्य टनेल छेड्ने काम सम्पन्न हुनेछ,’ डुमारुले भन्नुभयो ।

आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अब सुरुङ खन्न ५४.६० मिटरमात्र बाँकी रहेको छ । मुख्य टनेलतर्फ कुल २ हजार ६ सय ८८ मिटर लामो सुरुङ बन्दैछ । जसमध्ये मंगलबारसम्म २ हजार ६ सय ३३.४० मिटर सुरुङ खनिएको छ ।

यो आयोजनाको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ यअघि नै भइसकेको छ । यहाँ २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । जसको ७ अगस्ट २०२३ मा ‘ब्रेक थ्रु’ भएको थियो । सुरुङतर्फको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ । अब एक प्रतिशत काम सकिएपछि सुरुङ वारपार सकिने छ ।निमित्त आयोजना प्रमुख डुमारुका अनुसार ‘ब्रेक थ्रु’ भएको एक वर्षपछि सुरुङमार्ग व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने छ ।

नेपालमा व्यावसायिकरूपमा सञ्चालनमा आउने यो नै पहिलो सुरुङमार्गसमेत हुनेछ । यो सुरुङमार्गमा मोटरसाइकल र अतिप्रज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले अनुमति पाउने छैनन । अन्य सवारी साधनले भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन ।

यस आयोजनातर्फ ९५ प्रतिशत जग्गाको मुआब्जा वितरण र स्थानीयबासीसँगको विवाद समाधान भइसकेको छ । बाँकी पाँच प्रतिशतमा विवाद रहेको छ । काठमाडौंको बलम्बुतर्फ केही विवाद बाँकी छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यो आयोजनालाई अघि बढाएको हो । सरकारमा नहुँदासमेत एमाले अध्यक्ष ओली पटक पटक निरीक्षणमा जाने गर्नुभएको छ । तात्कालिन प्रधानमन्त्री ओलीकै बिशेष पहलकदमीमा अघि बढेको यो सुरुङमार्ग अव सम्पन्न हुने चरणमा पुगेको हो ।

आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति ६९.१५ प्रतिशत पुगेको छ । सुरुङबाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपाससमेत कुल थप १२ संरचना बनिरहेका छन । ती संरचनाको काम सकेर पूर्णता दिन अर्को एक वर्ष लाग्ने छ ।

यो आयोजना अध्ययन सन् २०१४ मा भएको थियो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यो आयोजनालाई अघि बढाएको हो । सरकारमा नहुँदासमेत एमाले अध्यक्ष ओली पटक पटक निरीक्षणमा जाने गर्नुभएको छ । तात्कालिन प्रधानमन्त्री ओलीकै बिशेष पहलकदमीमा अघि बढेको यो सुरुङमार्ग अव सम्पन्न हुने चरणमा पुगेको हो 

नागढुंगा सुरुङमार्ग डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा आयोजनाको ठेक्का लागेको थियो । सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्गसमेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर समेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो हुँदैछ ।

सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्बभन्दा माथिको हो । आयोजनाको वित्तीय प्रगति ६३.९६ प्रतिशत पुगेको छ । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको थियो ।

आयोजनामा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विष्फोटक पदार्थ प्रयोग नगरी नै सुरुङ बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा हुने गरेको छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । साथै, काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको इन्धन बचत हुनेछ ।