काठमाडौँ,१५ माघ । नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले राप्रपाका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलाई अभिव्यक्ति सच्याउन भन्दै चेतावनी दिएका छन् ।
शाहीले एक कार्यक्रममा नेकपाकाअध्यक्ष नेत्र विप्लव चन्दविरुद्ध पक्राउ पुर्जी जारी भएर पनि पक्राउ नपरेको भनेर दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न चेतावनी दिएका हुन् । शाहीले अभिव्यक्ति नसच्याए त्यसबाट उत्पन्न हुने परिस्थितिको गम्भीर परिणाम भोग्न तयार हुन प्रकाण्डले एक विज्ञप्तिमार्फतभनेका छन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २१ गते वार्ता भई भएको ३ बुँदे सहमति कार्यान्वन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । ३ बुँदे सहमतिको मर्मअनुसार नेकपा राष्ट्रिय राजनीतिमा क्रियाशील रहेको उल्लेख छ । ३ बुँदे सहमति गरेको झण्डे ३ वर्ष पुग्न लाग्दा पनि राज्यले त्यसको कार्यान्वयन नगर्नु र गर्न नदिनुले दलालहरुले सहमति भंग गर्न खोजेर अशान्ति र द्वन्द मच्चाउन चाहेको विज्ञप्तिमा उल्लेख छ ।
‘पक्राउ पुर्जी आएको मान्छे प्रधानमन्त्रीसँग मिटिङ गर्दै हिडेका छन’ भन्ने ज्ञानेन्द्र शाहीको अभिव्यक्ती सहमति भङ्ग गर्ने, अराजकता मच्चाउने, देशलाई द्वन्द्वतिर धकेल्ने र वर्तमान सङ्कटग्रस्त अवस्थाबाट देशलाई नेपाली जनताको समाजवादी व्यवस्थामा लगेर क्रान्तिकारी समाधान दिनबाट रोक्ने ज्ञानेन्द्र शाहीको नाङ्गो दलाल, अराजक, द्वन्द्वपिपाशु र प्रतिगामी अभिव्यक्ति भएको ठहर गर्दै, यसलाई तुरुन्तै फिर्ता लिएर आम जनतामाझ माफी माग्न ज्ञानेन्द्र शाहीलाई हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ ।
यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाईएन भने त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाहीनै हुने कुरासमेत हाम्रो पार्टी स्पष्ट गर्दछ,’–प्रकाण्डले विज्ञप्तिमा भनेका छन् ।




















