काठमाडौं,२३ माघ । दुई समूहबीच कुटाकुट भएपछि गत शनिबारबाट रोकिएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित बनेको छ ।
शनिबार रोकिएको बन्दसत्र माघ २३ गतेबाट सुरु गर्ने भनिएपनि नेताहरुबीच कुरा नमिलेपछि फेरि सरेको बताइएको छ । एमाले नवौं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका नेता धर्मदत्त देवकोटाले एक सूचना जारी गर्दै आन्तरिक कारणले बन्दसत्र तोकिएको समयमा सुरु हुन नसकेको बताएका छन् ।
अधिवेशनको बन्द सत्र आज विहान ८ बजे देखि संचालन गर्ने भनि सुचना गरिएकोमा आन्तरिक तयारीको काम अझै केही बाँकी भएकोले केन्द्रिय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ सुचना गर्ने कुरा जानकारी गराइन्छ साथै अधिवेशनको प्रकृया केन्द्रिय निर्देशन अनुसार जारी रहने छ । यो सुचनाले प्रतिनीधि र सम्बन्धित सबैमा पर्न गएको अप्ठेरो प्रति अध्यक्ष मण्डल गम्भिर रहेको कुरा अवगत गराउन चाहान्छु’ उनले भनेका छन् ।
शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा मनोनीत प्रतिनिधि छनोट र अध्यक्ष मण्डलबारे विवाद भएपछि झडपमा परिणत भएको एकपक्षको आरोप छ । एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष को हुने भन्नेमा चर्को विवाद भएपछि अधिवेशन अनिश्चित बन्दै आएको हो ।
त्रिपाठी एमालेको दश बुँदेपक्षका नेता हुन भने अधिकारीलाई प्रदेश अध्यक्ष कैलाश ढुंगेलको समर्थन रहेको छ । प्रदेश अध्क्ष ढुंगेलले जसरी भएपनि अधिकारीलाई अध्यक्ष बनाउन चाहेका छन् तर, जिल्लामा त्रिपाठी समूह बलियो रहेको छ ।




















