काठमाडौं,२३ माघ  । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अब पुरानो सोचले राजनीति नचल्ने बताउनुभएको छ । 

नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उहाँले समय अनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताउनुभयो । ‘कि अपडेट हुन सक्नुपर्छ, कि आउटडेटेड हुनुपर्छ’, ज्ञवालीले भन्नुभयो ।  

मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा एमाले भएकोले पार्टीसँगै नेता पनि अपडेट हुनुपर्ने बताउनुभयो । नेताहरू आधुनिक प्रविधिसँग अपडेट हुनु पर्नेमा उहाँले जोड दिनुभयो । यसको लागि हरेक नेता कार्यकर्ता अध्यनशील हुनुपर्नेमा ज्ञवालीले जोड दिनुभयो । 

पार्टीका नेता हरेक कुरामा एक कदम अघि हुने पर्ने ज्ञवालीको भनाई छ । नेता समय सापेक्ष बन्न नसके जनताले विश्वास नगर्ने उहाँले बताउनुभयो । 

पार्टीले निर्वाचनमा भाग लिने नेताहरूको परीक्षा लिने योजना बनाएको उहाँले सुनाउनुभयो । परीक्षामा उत्तीर्ण नहुनेले टिकट नपाउने अवस्था आउने ज्ञवालीले बताउनुभयो ।  

नेताहरुमा स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालन गर्ने क्षमता अभिवृद्धिका लागि पार्टीले यस प्रकारका प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी दिनुभयो । ज्ञवालीले आगामी दिनमा पाठ्यक्रम निर्माण गरेर नियमित परीक्षा लिने योजना रहेको बताउनुभयो । 

आफूले राजनीति के का लागि गरेको हो ? कसका लागि गरेको हो ? निर्वाचित भएपछि जनता, समाज, राष्ट्रका लागि के गर्न सक्छु ? भन्ने कुनै योजना निर्माण गर्न नसक्ने व्यक्तिले पार्टीको हितमा काम गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘आफ्नो योजनाबारे जनतालाई स्पष्ट पार्न सक्नुपर्छ’, उहाँले भन्नुभयो ।