विराटनगर, २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यतिखेर चौतर्फी विवादमा फसेका छन् । आफैँले दिएको अभिव्यक्तिका कारण उनि विवादमा परेका हुन् ।
सोमबार सुन्दरहरैँचामा ६ मा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । कार्की अझै थप्छन्, ‘फस्ट बेन्चरले कलम चलाउने र आफ्नु भुडिभर्ने मात्रै जानेका छन् । तर, कक्षा कोठामा सबै अब्बल हुन्छन्, म लास्ट बेन्चर यतिबेला मुख्य मन्त्री छु ।’
साेही अभिव्यक्तिका कारण मुख्यमन्त्री कार्की विवादमा परेका हुन् । उनको भाषण सुन्ने कलिला बालबालिकाको दिमागमा के पस्यो होला ? अब नपढे पनि मुख्यमन्त्री भइनेरहेछ भन्ने भान किन पारेका होलान मुख्यमन्त्रीले ? प्रदेश मुख्यमन्त्रीबाट के सिक्ने विद्यार्थीले भन्दै मुख्यमन्त्री कार्कीकाे आलाेचना भइरहेकाे छ ।
मुख्यमन्त्री कार्कीले पूर्वमुख्यमन्त्री र सत्तारुढ दलका नेतालाई गाडी सुविधा दिने अध्यादेश जारी गरेको विषयमा पनि विवादमा परेका थिए ।




















