काठमाडौं,२६ माघ । प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले नेपालमा राजनीतिक दल खुल्नु अघि नै विद्यार्थी आन्दोलन सुरु भएको बताउनुभएको छ ।
शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै गिरीले विद्यार्थीले राणा विरुद्धको आन्दोलन सुरु गरेका उहाँले स्मरण गर्नुभयो । सामाजिक जागरण राजनीतिक परिवर्तनका लागि विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण योगदान रहेको उहाँले स्पष्ट पार्नुभयो ।
विद्यार्थी हरेक कुरामा अब्बल हुनु पर्ने बताउँदै गिरीले त्यसको लागि अध्ययन नै पहिलो कुरा भएको बताउनुभयो । त्यसैले अध्ययनलाई पहिलो प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो । पढाइ छाडेर भाषण गरेको भरमा अब विद्यार्थी नेता बन्न नसकिने गिरीले स्पष्ट पार्नुभयो । ‘एउटा विषयको विज्ञ बन्ने काममा तपाईँहरू लाग्नुस्’, उहाँले भन्नुभयो ।
युवा पलायन अहिले देशको प्रमुख चुनौती भएको गिरीको भनाइ छ । नेपाली कांग्रेसको अदूरदर्शी नीतिका कारण युवा विदेश पलायनको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । देशका उद्योग कारखाना कांग्रेसले सरकारको नेतृत्व गरेपछि बन्द भएका कारण युवा पलायन बढेको गिरीको भनाइ छ ।
परिवर्तनको लागि पहिलो लाइनमा आउने युवा, विद्यार्थी उपलब्धि प्राप्त गर्ने कुरामा भने सबैभन्दा पछाडि रहेको उहाँले बताउनुभयो । अधिकार प्राप्तिको लागि युवा विद्यार्थीको भूमिका हस्तक्षेपकारी हुनुपर्नेमा गिरीले जोड दिनुभयो । ‘त्यस कारण यहाँहरूको हस्तक्षेपकारी भूमिका आजको दिनमा आवश्यक छ’, उहाँले भन्नुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीको अधिकारका लागि काम गर्नुपर्ने गिरीले बताउनुभयो । त्यसो गर्न नसके युनियनका कामका विषयमा प्रश्न उठ्ने उहाँले प्रष्ट पार्नुभयो । अब स्वतन्त्र विद्यार्थी नयाँ ढङ्गले अघि बढ्नुपर्ने उहाँको सुझाव छ ।




















