काठमाडौं - काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ इन्स्पेक्टर आफैँले बोकेको पेस्तोलबाट गोली चलेको छ । आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल पड्किँदा उनका बडिगार्ड सिपाही आशिष जैसवाल घाइते भएका हुन्।
घाइतेलाई एपीएफ अस्पताल लगिएको छ। बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको र उनी खतरामुक्त रहेको बताइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार प्रहरी निरीक्षक श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली पड्किएको हो। ‘इन्स्पेक्टर श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली अड्किएको र उक्त गोली निकाल्ने क्रममा लापरबाहीले उक्त घटना भएको देखिन्छ,’ उनले भने।
घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिइएको छ। इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धान गर्न नियन्त्रणमा लिइएको थापाले बताए।
उनीमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरी स्रोतले बतायो ।


