- पत्रकारिताका कारण भ्रष्टाचार शून्य हुन पनि सहज पुग्छ : उपसभामुख इन्दिरा राना
इटहरी - प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिताका कारण भ्रष्टाचार शून्य हुन पनि सहज हुने बताएकी छन् । पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताइन ।
सोमबार इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हुन् ।
‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारणपनि पत्रकारहरूसँग नजिक छु ।’उनले पत्रकारहरू नागरिक अधिकारका पैरवी गर्ने कलमजीवीहरू रहेको बताइन् । उपसभामुख रानाले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म निरन्तर जनताका आवाज मुखरित गर्नेहरूलाई सम्मान गर्नु सकारात्मक पक्ष हो ।
उनले पत्रकारिताको माध्यमबाट देशमा भइरहेका भ्रष्टाचार, बेथिति चिर्न सकिने बताउँदै अबको पत्रकारिता जनमुखी हुनुपर्ने बताइन् ।उक्त कार्यक्रमको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको थियो ।
प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिबबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा), कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई सम्मानसमेत गरियो । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।
यसैगरी उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन् । उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो ।
यस्तै, पर्यटनको क्षेत्रमा योगदान पु¥याएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो । यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको थियो ।
प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले प्रेस स्वतन्त्रता सेनानीबाट उपाधि प्राप्त गरेका बरिष्ठ पत्रकारलाई सम्मान गरिएको र हाल क्रियाशील रहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताए । पछिल्लो समय डिजिटल पत्रकारिताको विकाससँगै आफूहरूले सत्य, तथ्य र निष्पक्ष रही पत्रकारिता गर्दै आएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानीद्धय हर्ष सुब्बा र चन्द्र भण्डारी, अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटा, पुरस्कृत व्यक्तिमध्येबाट सुरेन्द्र भण्डारी, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन कोशीका महासचिव सञ्जीव वाग्ले, प्रेस चौतारी नेपालका अनुशासन कमिटिका सदस्य त्रिलोचन पौडेल, प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


