काठमाडौं - नेकपा एमालेकाे साताैं केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु हुन लागेकाे हाे ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विभिन्न ६ वटा एजेण्डामाथि छलफल हुनेछ ।
बैठककाे सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ । बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । अबकाे १ वर्ष शुद्धीकरण अभियान चलाउने एमालेकाे तयारी छ ।
पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको एजेण्डाहरू तथा समसामयिक प्रस्तावमाथि पनि बैठकमा छलफल हुनेछ ।
बैठक फागुन १० गतेसम्म चल्नेछ ।




















