पथरीशनिश्चरे - पथरी उद्योग बाणिज्य संघको सोमबार भएको निर्वाचनबाट अध्यक्ष पदमा दिपक बस्नेत निर्वाचित भएका छन् । १९ औं साधारणसभाबाट भएको निर्वाचनमा उनले अध्यक्षका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवारी  दिएकी देवी राई (नाना) लाई  पराजित गर्दै  अध्यक्षमा निर्वाचित भएका हुन् । 

खसेको कूल मत संख्या ६६५ बाट ६४७ सदर मत रहेको थियो। बस्नेतले ५०४ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने  उनका निकटतम प्रतिद्वन्द्वी देवी राईले १३२ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै, उपाध्यक्षमा हरिराज प्याकुरेल र ईश्वरी सापकोटालाई पराजित गर्दै रविन राई विजयी भएका छन्। संघको  दुई पदका लागि निर्वाचन भएको थियो भने अन्य पदाधिकारीहरु भने यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ खरेल, महासचिवमा अशोककुमार राई, उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी, वाणिज्य सचिवमा निलम बस्नेत र कोषाध्यक्षमा तेजेन्द्रप्रकाश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै,महिला सदस्यमा प्रेम कुमारी ढकाल र जुनी थपलिया तथा खुल्ला सदस्यहरुमा क्रमशः इन्द्रबहादुर राई, तीर्थराज अधिकारी, भरत भण्डारी र सन्तोष चौधरी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तैगरी ,लेखा संयोजकमा रोहित बास्तोला, लेखा सदस्यमा निरज कटुवाल र प्रकाश डाँगी पनि निर्विरोध निर्वाचित भएका हुन् ।

संघको १९ औं निर्वाचनमा मुख्य पद र अन्य पदहरुमा दलिय भागबन्डा लगाएर निर्वाचनमा गएका थिए । जस अनुसार अध्यक्ष पदमा निर्वाचित बस्नेत नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका थिए । उनि नेकपा एकिकृत समाजवादीको कोशी प्रदेश कमिटीका सदस्य समेत हुन् । 

वरिष्ठ उपाध्यक्ष काङ्ग्रेस, उपाध्यक्षमा रास्वपा, महासचिव एमाले, उद्योग सचिव काङ्ग्रेस, वाणिज्य सचिव माओवादी, कोषाध्यक्ष एमाले, सदस्य राप्रपा, जसपा, लेखा संयोजक काङ्ग्रेसलाई भागबन्डा गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो ।

पथरी शनिश्चरे क्षेत्रका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले विभिन्न पदहरुमा २५ जनाले  उम्मेदवारी  दिएका थिए ।