काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा असहमति जनाउँदै फरक मत राखेका छन । उपमहासचिव शर्माले पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित रुपमा असहमति जनाएका हुन्  ।

पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहमति पत्र बुझाएका छन  । कार्यबिभाजनमा अध्यक्ष प्रचण्डको नियत अत्यन्तै खराव देखिएको र गलत काम भएको भन्दै शर्माले लिखित रुपमै असहमति जनाए ।

‘विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वन गर्ने कार्यभारप्रति बेवास्ता गर्नु र पारित विषयलाई बेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा हो,’ शर्माले असहमति पत्रमा लेखेका छन्, ‘विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न माग गर्दछु ।’

स्थायी कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटक–पटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भई असहमतिका बीच पारित गरिएका निर्णयहरूप्रति गम्भीर असहमति रहेको पनि शर्माले उल्लेख गरेका छन  ।

शर्माले प्रचण्डको परिवार मोह र बदमासी केलाउँदै असहमति पत्रमा लेखेका छन , ‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति मलगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।’

राष्ट्रियसभा सदस्य नारायण दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन  । भाइ भएकै कारण प्रचण्डले इञ्चार्ज दिएपछि शर्माले आपत्ति जनाएका हुन्  । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरी विकल्प नदिई अपमानित गरिएको र सो प्रदेशमा हाललाई बुहारी विना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपयलाई पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भिर रहेको शर्माको भनाई छ ।

‘अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इञ्चार्ज बनाउन अध्यक्षसमेतको संलग्नतामा गरिएको गतिबिधिहरुका आधारमा दर्जनभन्द्या बढी कमरेडहरुलाई बेवास्था गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इञ्चार्ज दुवैबाट पदच्यूत गरी बिकल्प नदिई अपमानित गरिएको । सो प्रदेशमा हाललाई बिना मगरलाई सहइञ्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तब्यस्त पार्ने मात्र नभई कतिपय कमरेडलाई यो पार्टीमा स्थान छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैमा गम्भीर छ । खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपमा बिस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु,’ शर्माले लेखेका छन्  ।

शर्माले आफूले जिम्मेवारी नपाउनुमा पनि बिधान अधिवेशनमा आफूले प्रस्तुत गरेका एजेण्डाहरु, छलफल र हलले पदाधिकारीसमेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्था गर्दै पदाधिकारी र पार्टीको नामबारे पछि छलफल गरौंला भन्दै टारिको अवस्थालाई समेत उजागर गरेको बताएका छन  । यस्तै जनप्रतिनिधिले पार्टी  कामको जिम्मेवारी नलिने नीतिगत ब्यवस्था कार्यान्वयन गर्ने कुरा गर्दा स्वयं अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न स्वभाविक रुपमा उठने पनि बताएका  छन ।