इटहरी - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेकोमा आफूलाई हास्यास्पद रहेको टिप्पणी गरेका गरेका छन् । ‘संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छेले प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा अचम्म पनि लागेको अध्यक्ष ओलीले बताए ।
बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्षमाथि व्यङ्ग गर्दै ‘संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ?’ भनी प्रश्न गरे । उनले संविधान, कानुन कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको जिकिर गरे ।
अध्यक्ष ओलीले थपे , ‘कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरू । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसदमा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ– म असार १५ गते प्रधानमन्त्री हुन्छु, अगाडि बसेका मान्छेहरू हो, हो भनेर ट्यापट्याप गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानून कता छ ? संसद के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ–म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन ।’
साथै ओलीले २०८४ मा एमालेले बहुमतको सरकार बनाउने दाबीपनि गरे




















