काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगनान्थ खतिवडाले पार्टीमा बजारमा हल्ला चलेजस्तो विवाद नरहेको बताएका छन् । उनले पार्टीको बिहीबार सम्पन्न भएको महाधिवेशन केन्द्रीय मस्यौदा समितिको बैठकपछि यस्तो कुरा बताएका हुन् ।
बैठकले महाधिवेशनमा एउटै मात्र राजनीतिक दस्तावेश पेश गर्ने सहमति गरिएको उनले बताए । महाधिवेशनमा एक मात्र दस्तावेज ल्याउने सर्वसम्मत निर्णय भएको छ,” प्रवक्ता खतिवडाले भने।
अध्यक्ष माधवकुमार नेपाल सहितको सहभागितामा २७ सदस्यीय मस्यौदा समितिको बैठक बसेको थियो। तीन दिनदेखि जारी बैठकमा समस्यौदाबारे विस्तृत छलफल भएको उनले बताए।
“पार्टीले आगामी महाधिवेशनमा पारित गर्ने नीति तथा कार्यक्रमको विषयमा पार्टीको समाजवादी कार्यक्रमको विषयमा छलफल भइको छ। विभिन्न कोणबाट उठेका आवाजसहित महाधिवेशनमा एक मात्रै दस्तावेज आउनेछ,” बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले भने, “पार्टीभित्र कुनै प्रकारको अलगअलग सोच छ भन्ने शंका हटाएको छ।”
जबजलाई लिएर अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद देखिएको थियो। खनालले छुट्टै दस्तावेज ल्याउने सार्वजनिक रुपमै बताउँदै आएका थिए। आजको बैठकमा भने सहमति जुटेको खतिवडाको भनाइ छ।
दस्तावेजलाई पूर्णता दिनका लागि जिम्मेवारी बाँडफाँट गरिएको छ। आउँदो महाविधेशनमा विधान, राजनीतिक प्रतिवेदनसहित चार प्रतिवेदन पेश हुने खतिवडाले बताए।




















