काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । बालकोटमा सचिवालय बैठक सकिए लगत्तै अध्यक्ष ओली बालुवाटार पुगेका हुन्  । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पनि बालुवाटार पुगेका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएलगत्ते एमाले नेताहरु सचिवालय बैठकबाटै माओवादीसँग नयाँ समीकरण गर्ने निर्णयसहित बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेससँगको गठबन्धन टुटेको घोषणा गरेपछि एमालेले नयाँ समिकरणका लागि सहमत भएको हो । नयाँ गठबन्धनअनुसार आजै मन्त्रिपरिषद हेरफेर हुने भएको छ । सोही बिषयमा छलफलका लागि ओली बालुवाटार पुगेका हुन् ।

सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ । नयाँ मन्त्रीमण्डलमा सत्ताको नेतृत्व गरिरहेको दल माओवादीले नेकपा एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा अटाउनुपर्ने पक्षमा उभिएको छ । तर  नेकपा एकीकृत समाजवादीबाट भने आधिकारीक जवाफ भने आएको छैन ।

आज बसेको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताए । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो । 

एमालेले नेकपा एसलाई समेट्न मान्ला त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘वामपन्थी भनेपछि मान्नुपर्‍यो नि । इगो लिएर मात्र हुँदैन । हिजो इगोले हामीलाई कहाँ पुर्‍यायो सबैलाई थाहै छ । उहाँहरू (एमाले) को पनि भाषा र साइकोलोजी बुझेर हामीले निर्णय गरेको हो ।’

नेकपा फेरि ब्युँतिने सम्भावना बारे उनले भने, ‘पार्टी एकताको विषयमा त कुरा चलेको छैन । तर, यो स्टेपले त्यो दिशातर्फ लैजान्छ । वामपन्थी एकताकै लागि यो स्टेप चालिएको हो ।’