विराटनगर - नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नैतिकता देखाएर आजै राजिनामा दिनुपर्ने बताएका  छन  ।

केन्द्रीय गठबन्धनमा आएको फेरबदलसँगै कोशी प्रदेश सरकारको नैतिक हैसियत सकिएको भन्दै  मुख्यमन्त्री कार्कीले नैतिकता देखाएर आजै राजिनामा दिनु पर्ने बताएका हुन् । 

'उहाँ जुन गठबन्धनमा सामेल भएर सरकारको नेतृत्व गरिरहनु भएको छ, त्यो गठबन्धन नै भत्किएपछि स्वतः अल्पमतमा पर्नुभयो' भण्डारीले भने, 'नैतिकता देखाएर अब आजै राजिनामा दिनुपर्छ, राजिनामापछि संविधान अनुसार नै वैकल्पिक सरकार बन्छ ।'

प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीले जुन गठबन्धनमा सामेल भएको हो त्यो गठबन्धन नै टुटिसकेको सिधै अल्पमतमा परेको दाबी गरे ।

उनले नयाँ सरकार बन्न संविधानले नछेक्ने पनि दाबी गरे । सर्वोच्च अदालतले वैकल्पिक सरकार बन्ने अवस्था रहँदासम्म संसद् विघटन गर्न पाइदैन् भन्ने व्याख्या गरेको बताए ।

गठबन्धनको १४ संख्या त आजैबाट घट्यो, उहाँ अल्पमतमा पुगिसक्नु भयो, अब सरकारमा बसिरहनु त हुँदै हुँदैन, 'अल्पमतमा रहेको प्रधानमन्त्रीले होस् वा मुख्यमन्त्रीले होस्, राजिनामा त दिनैपर्छ, त्यसका आधारमा आजै राजिनामा दिनुपर्ने हो' उनले भने

नेकपा एमालेका ३९ सांसदको समर्थनसहित कांग्रेसबाट ८ जनाको नेतृत्वमा विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशीमा गत असोज २८ गते मुख्यमन्त्री बनेका कार्कीले एमालेलाई धोका दिएर केन्द्रीय सत्ता गठबन्धन दलबाट मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यसपछि एमाले मुख्यमन्त्री कार्कीसँग रुष्ट बनेको थियो ।