काठमाडौं - नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच लिखित सहमति भएको छ ।

सोमबार भएको सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो । यस्तै राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

त्यसै गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने सहमति पनि भएको छ ।

यस्तै सरकारमा सहभागी भएका दलहरुकाबीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक भएका दलहरुसँग संवाद अघि बढाउने सहमति पनि दलहरुबीच भएको छ ।

नयाँ गठबन्धनमा  नेकपा एमाले,नेकपा माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी रहेका छन् ।