विराटनगर - नयाँ गठबन्धनले तत्काल कोशीमा सरकार बनाउन हतार नगर्ने माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बताएका छन् । प्रदेशमा राजनीतिक अस्थिरता आउने र कुनै दुर्घटनामा जाने खालको निर्णय गर्ने पक्षमा हामी छैनौँ,’ उनले भने, ‘हामी कानुन र संविधानका जानकारसँग परामर्श लिएर कसरी जाने भन्ने धारणा बनाउँछौँ । त्यसैले ‘हामी हतारमा छैनौँ ।"" उनले भने तत्काल प्रदेशलाई अस्थिर बनाउने हिसाबले समर्थन फिर्ता लिने विषयमा सोचिसकेका छैनौँ ।’ ‘
कोशीमा संविधानको धारा १६८ (५) अनुसार सरकार बने पनि व्यक्तिले समर्थन फिर्ता लिन पाउने पनि व्यवस्था रहेको उनको भनाइ छ । ‘सरकार बन्ने सम्भावना रहेसम्म संसद् विघटन गर्न मिल्दैन । तसर्थ कोशीमा अझै पनि सरकार बन्ने सम्भावना छ नि,’ उनले भने ।
त्यस्तै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले अब अर्को सरकार बन्ने सम्भावना नरहेको बताए । ‘अहिलेको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको छ । यहाँ कुनै पार्टीको सरकार बनेको होइन, व्यक्तिको नेतृत्वमा बनेको हो । अन्तिम विकल्पमा संसद् सदस्यको नेतृत्वमा बनेको होइन ? अब अर्को सरकार कसरी बन्छ ?’ उनले भने, ‘यो सरकार किन बहिर्गमन हुने ? मुख्यमन्त्रीले किन राजीनामा दिने ? कारण त चाहियो होला नि ! माथिको सत्ता समीकरण परिवर्तन भयो, मलाई लाज लाग्यो भनेर मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने ? यो सरकार नै निरन्तर रहनेमा ढुक्क छौँ ।’ विश्वासको मत दिएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने भएकाले पनि यो सरकार परिवर्तन नहुने उनको दाबी छ ।
तर एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनको निर्णयअनुसार अघि बढ्ने बताए । यद्यपि कोशीको सन्दर्भमा कानुनी प्रक्रिया पूरा गरेर अघि बढ्ने उनको भनाइ छ । ‘कोशीमा कानुनी र संवैधानिक प्रक्रिया पूरा गरेर जानुपर्ने भएकाले केन्द्रसँग छलफल र परामर्श गरेर मात्र अघि बढ्छौँ,’ उनले भने, ‘यद्यपि राजनीतिक कोर्सचाहिँ केन्द्रकैलाई फलो गर्छौँ ।’
संविधानविद् विपिन अधिकारीले भने सांसदहरूले समर्थन फिर्ता लिन मिल्ने बताए । ‘धारा १६८ (५) अन्तिम विकल्प होइन । सरकार निर्माण जहिले पनि विकल्पको खोजी हो । अहिलेको सरकार टिकेन भने नयाँ सरकार बन्न सक्छ । कोशीको अहिलेको सरकार अन्तिम होइन । कोशीमा अर्को सरकार बन्ने विकल्प खुला छ,’ उनको तर्क छ । ९३ सदस्यीय रहेको कोशी प्रदेश सभामा एमाले, माओवादी र जसपाको नयाँ गठबन्धनसँग ५४ (एमालेको एक उपसमामुखसहित) सांसद छन् । नयाँ पत्रिकाबाट




















