काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्धमा सुधार हुने संकेत देखिएको छ । पार्टी विभाजनयता पहिलोपटक ओलीले नेपाललाई फोन गरेका छन् ।
गठबन्धनको सहमतिलाई मुर्तरूप दिन सोमबार बालुवाटारमा बसेको बैठकबाट ओलीले नेपाललाई स्वास्थ्यलाभको कामना गर्दै फोन गरेका हुन् । ओलीले नेपाललाई फोन मार्फत ‘अस्वस्थ हुनुभएको रहेछ थाहाँ पाए,स्वास्थ्यलाभको कामना छ’भनेपछि नेपालले धन्यवाद दिए ।
बालुवाटारको छलफल पछि प्रधानमन्त्री प्रचण्ड र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाल निवास हिँडेपछि ओलीले भने, ‘म आउन पाइनँ । प्रचण्डजी आउनु भएको छ । उहाँले राख्ने कुरा मेरो पनि हो है ।’ नेपालले भने, ‘ठीक छ, छलफल गर्न सकिन्छ ।’नेताहरूबीच करिव दुई-तीन मिनेट कुराकानी भएको थियो । त्यस लगत्तै प्रधानमन्त्री प्रचण्ड र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास पुगेका थिए ।
स्रोतका अनुसार नेपालले यत्रो राजनीतिक घटनाक्रममा आफ्नो पार्टीलाई उपेक्षा गरिएकोमा असन्तुष्टि पोखेका थिए । ‘यो गठबन्धन कसरी बन्यो, किन बन्यो हामीलाई जानकारी छैन । सबै निर्णय लिँदा हामीलाई सम्झिनुभएन । तर, गणित पु¥याउन सकस भएपछि मात्रै प्रस्ताव गर्नुभयो’, उनले प्रधानमन्त्रीसँग गुनासो गरे ।
प्रचण्डले रातारात गठवन्धन फेर्दा माधव नेपाललाई उपेक्षा गरेका थिए । त्यसबाट असन्तुष्ट बनेका नेपाललाई फकाउन प्रचण्ड गएका हुन् । हिजो माओवादी वैठकले गठवन्धनमा एसलाई पनि समेट्नुपर्ने निर्णय गरेको थियो । एमाले पनि नेकपा एसलाई समेट्न सकारात्मक बनेको छ ।




















