विराटचोक - मोरङको पथरी शनिश्चरे गाउँपालिका-७, लामाटोलमा १५ वर्षीया ज्ञानकुमारी राईको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

हत्या आरोपमा प्रहरीले मोरङको ग्रामथान गाउँपालिका-४, मोतीपुरका ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई पक्राउ गरेको हो। ज्ञानकुमारीकोे हत्यापछि फरार रहेका धीरेन्द्रलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

धीरेन्द्रको ज्ञानकुमारीसँग चिनजान रहेको थियो। उनले ज्ञानकुमारीको नामबाट फेसबूकइंस्टाग्राम,इमो  लगायतका सामाजिक संजालाआइडी बनाएर चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यसअघि धीरेन्द्रले ज्ञानकुमारीलाई भगाएर लग्न खोजेको पाइएको छ। भारत लग्दै गरेको अवस्थामा गत असार १३ गते जोगबनी नाकाबाट दुवै जनालाई फर्काइएको थियो।

धीरेन्द्रले ज्ञानकुमारीलाई फकाइफुल्याइ गरेका थिए। उनले आफ्नो बिहे नभएको बताउने गरेका थिए। उनका छोराछोरी समेत रहेको खुलेको प्रहरीले जनाएको छ।

पछि सम्बन्ध बिग्रिएका कारण धीरेन्द्रले ज्ञानकुमारीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।

खोटाङको ऐंसेलुखर्क गाउँपालिका-६, सल्लेकी ज्ञानकुमारी पथरी शनिश्चरे नगरपालिका-७, लामाटोलस्थित मामाको घरमा बस्दै आएकी थिइन्। गएराति १०.१७ मा ट्वाईलेट गएको समयमा धारिलो हतियार प्रहार गरी उनको  हत्या भएको थियो।