काठमाडौं - कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस त्रिशुलीमा खस्दा ४ जनाको मृत्यु भएको छ ।
उक्त बसमा रहेका ३२ जनाको सकशुल उद्धार गरिएको छ।
विहान ५ बजे धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस त्रिशुलीमा खसेको हो ।दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेको उपरीक्षक केसीले जानकारी दिए । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बस अनियन्त्रित भई त्रिशुलीमा खसेको हुन सक्ने प्रहरीले बताएकाे छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेकाे छैन ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।


